अमेरिका। चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्देशनमा अमेरिकामा निर्माण भएको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ यही भदौ २६ गते शुक्रबारदेखि प्रसारण हुने भएको छ। यसअघि नै प्रसारणको तयारी गरिए पनि देशमा आएको भीषण बाढीपहिराका कारण केही समयका लागि रोकिएको यो श्रृंखला अब दर्शकमाझ आउन लागेको हो।
धुर्मुस-सुन्तली मिडियाको आधिकारिक युट्युब च्यानलबाट प्रसारण हुने यो सिरियल नेपाली समय अनुसार हरेक शुक्रबार साँझ ८:१५ बजे र अमेरिकामा बिहान १०:३० बजे हेर्न सकिनेछ। धुर्मुसको चर्चित संवाद (थेगो) बाट नामकरण गरिएको यस सिरियलको अधिकांश छायांकन अमेरिकाको नर्थ क्यारोलाइनाका विभिन्न स्थानहरू (राले, केरी, होली स्प्रिङ्स, चार्लोट आदि) मा गरिएको छ।
यस सिरियलमा धुर्मुस-सुन्तलीका साथै वरिष्ठ हास्य कलाकार मोहन मिश्र, दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मनिका चौलागाँई, चुडा धिमाल, धर्म भारती लगायतको अभिनय रहनेछ। यसै श्रृंखला मार्फत उनीहरूकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गर्दैछिन् भने पूर्वनायक जीवन लुइँटेलसमेत अतिथि भूमिकामा देखिनेछन्।
सिरियलमा राजु केसीको छायांकन, आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।
सिरियल केवल मनोरञ्जनमा मात्र सीमित नरही यसले अमेरिकामा रहेका नेपालीहरूको संघर्ष, सफलता, चुनौती र प्रवासी जीवनका विविध कथालाई हास्यव्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
सिरियलका सल्लाहाकार डा. चन्द्र गिरीले प्रवासमा बसेर निरन्तर कला साधना गर्नु प्रशंसनीय कार्य भएको बताए। उनले भने, “प्रवासमा रहेर यहीँबाट नियमित रूपमा कलाकर्म सुरु गर्नु आफैंमा प्रशंसनीय काम हो, यसमा प्रवासमा रहेका सबै नेपालीको साथ सहयोग हुन जरुरी छ।”
आफूहरू जहाँ रहे पनि कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन खोजिएको कलाकार सीताराम कट्टेलले बताए। “मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ,” कट्टेलले भने।








प्रतिकृया दिनुहोस्