बीबीसी। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजन एयरको एउटा मालवाहक विमान धावनमार्ग (रनवे) बाट अनियन्त्रित भई चिप्लिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
प्युर्टो रिकोको लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको बोइङ ७६७-३०० मालवाहक विमान स्थानीय समय अनुसार दिउँसो करिब १४:०० बजे (१९:०० जिएमटी) दुर्घटनाग्रस्त भएको हो। अवतरणका क्रममा धावनमार्ग छाडेर अघि बढेको सो विमानले भुइँमा रहेका केही सवारीसाधनलाई समेत टक्कर दिएको थियो।
अमजनले घटनाप्रति दुःख व्यक्त गर्दै “के भएको हो भन्नेबारे यकिन तथ्य पत्ता लगाउन स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको” जनाएको छ।
घटनापछि उद्धार टोली र दमकल दुर्घटनास्थलतर्फ लागेका थिए भने संघीय उड्डयन प्रशासन (एफएए) ले विमानस्थलका सम्पूर्ण उडानहरू स्थगित गर्न आदेश दिएको थियो। यो दुर्घटना अमेरिकाको व्यस्त मानिने लेबर डे सप्ताहान्तका समयमा भएको हो।
आइतबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा मियामी-डेड काउन्टीकी मेयर डानिएला लेभिन काभाले भन्नुभयो, “कम्तीमा पाँच जनाले ज्यान गुमाएका छन् भने अन्य पाँच जना घाइते भएका छन्। उद्धार टोलीहरू दुर्घटना भएको केही सेकेन्डभित्रै घटनास्थलमा पुगेका थिए।” उहाँका अनुसार घाइते सबैलाई अस्पताल लगिएको छ।
मियामीका फायर चीफ राईद जादल्लाहका अनुसार घाइते पाँचमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। भुइँमा रहेका गाडीभित्र वा मुनि च्यापिएका केही घाइतेहरूलाई उद्धार टोलीले बाहिर निकालेका थिए।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले घटनाको अनुसन्धान गर्नेछ।
२१ एयर नामक चार्टर कम्पनीद्वारा सञ्चालित सो विमान मियामी विमानस्थलको तेर्सो धावनमार्गबाट चिप्लिएर उत्तर-पश्चिम किनारामा पुगेको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मियामी-डेड फायर रेस्क्युका अनुसार दुर्घटनाका कारण विमानमा भीषण आगलागी हुनुका साथै बाक्लो धुवाँ निस्किएको थियो।
२०० भन्दा बढी अग्निनियन्त्रकहरू परिचालन गरी आगो निभाइए पनि घटनास्थलमा अझै इन्धन चुहावट भइरहेको जादल्लाहले बताउनुभयो।
अमजनकी कर्पोरेट ग्लोबल मिडिया रिलेसन निर्देशक केली नान्टेलले शोक व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ। उहाँले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
उडान ट्र्याकिङ साइट ‘फ्लाइटराडार २४’ का अनुसार विमान धावनमार्गबाट बाहिरिँदा प्रतिघण्टा ११२ नट (२०७ किमी) को गतिमा थियो। विमान अमेजनको गोदाम नजिकैको पार्किङ स्थल नजिकै अडिएको थियो। दुर्घटनाको समयमा मियामीमा हल्का मेघगर्जनसहित तेज हवाहुरी चलिरहेको थियो।
विमानस्थलमा उडानहरू रद्द र ढिलाइ भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन्। मियामी अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकाको सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक मानिन्छ।








प्रतिकृया दिनुहोस्