रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आगामी असोज ९ गतेदेखि प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रत्ननगर–१२ मा रहेको न्यू पञ्चदिप युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
सान रियल स्टेट नेपाल प्रा.लि. मुख्य प्रायोजक रहेको प्रतियोगितामा ८ वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक दिनेश राना मगरले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक तथा पञ्चकन्या सामुदायिक वन सहसंरक्षक रहेको प्रतियोगितामा रत्ननगरका वडा नं. ११ र १२ सहआयोजकका रूपमा रहेका छन् ।
प्रतियोगिताको तयारी तथा उद्देश्यबारे जानकारी गराउन आयोजकले आइतबार पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा सान रियल स्टेट नेपाल प्रा.लि.का सञ्चालक, युवा व्यवसायी एवं समाजसेवी सन्देश तामाङले आफ्नो आम्दानीको केही हिस्सा मानवीय सेवामा खर्च गर्दै आएको बताए ।
लामो समयदेखि दिनदुःखी तथा विपन्नको सेवामा सक्रिय रहेको उल्लेख गर्दै तामाङले युवालाई खेलकुदमार्फत सकारात्मक र सही दिशातर्फ अघि बढाउन गोल्डकपलाई सहयोग गरेको बताए । उनले भने, “अब रत्ननगरको विकासमा पनि सक्रिय भएर काम गर्ने सोच बनाएको छु । त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।”
प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष किरण थिङले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘म्यान अफ दी म्याच’लाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ ।








प्रतिकृया दिनुहोस्