काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसमी बदली र वर्षाको गतिविधि जारी छ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानका साथै पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवम् तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर सामान्यतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यसै गरी, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
तराईतर्फ मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
कोशी, बागमती र गण्डकीको पहाडी भूभागका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।








प्रतिकृया दिनुहोस्