गोरखा । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा गएराति ३ बजेतिर आएको भीषण बाढीले स्थानीय चारवटा घर र पुल बगाएको छ। लेदोसहित आएको बाढीले नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएर क्षति पुर्याएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार बाढी आउँदै गरेको थाहा पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानतर्फ भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
मुहान भेगतिर खोला केही बेर थुनिएर एक्कासि लेदोसहित फुटेर बाढी आएको हुन सक्ने गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। बाढीले सोही गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने मुख्य फलामको पुलसमेत बगाएर यातायात र आउजाउ पूर्ण रूपमा ठप्प पारेको छ।
आइतबार बिहान ४:४० बजेदेखि भने बाढीको बहाव बिस्तारै घट्दै गएको र अहिले खोला सामान्य अवस्थामा फर्किएको छ। यद्यपि, हालै भोटेकोशी र देशका विभिन्न क्षेत्रमा आएको बाढी-पहिरोको विनाशकारी असर कायम रहेकै बेला नाम्रुङ खोलामा पनि बाढी आएकाले थप जोखिम बढ्न सक्ने आँकलन गरिएको छ।
नाम्रुङ खोला अगाडि बढेर बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन गर्ने र पीडितहरूलाई राहत एवम् पुनःस्थापनाका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकाय परिचालित भइसकेका छन्।








प्रतिकृया दिनुहोस्