भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निःशुल्क उपचारको प्रबन्ध गरेको बताएका छन् ।
बुधबार नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमनपछि उनले घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । ‘विपदमा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो । प्रादेशिक अस्पताल तथा आयुर्वेदिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,’ मुख्यमन्त्री थापामगरले भने ।
प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालका स्वास्थ्यकर्मी रसुवा तथा नुवाकोटेको त्रिशूलीमा खटाएको छ । भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसियु कक्षको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ ।
प्रदेशका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विभिन्न नदी तटीय क्षेत्रमा बाढीका कारण गम्भीर जोखिम र क्षति भएको तथा तल्लो तटीय क्षेत्र पनि प्रभावित भएको उनको भनाइ छ ।
मुख्यमन्त्री थापामगरले भने, ‘प्रदेश सरकार यस विपद्को घडीमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार तथा राहतलाई सर्वोच्च प्राथमिकता दिई परिचालित भएको छ,’ प्रभावित क्षेत्रमा तत्कालका लागि आवश्यक स्वास्थ्य सेवा, औषधि उपचार, खानेपानी, खाद्यान्न तथा बसोबासको व्यवस्था मिलाउने कार्य भइरहेको उनको भनाइ छ ।
हालको कठिन परिस्थितिमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताउँदै उहाँले सबै सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सामाजिक सङ्घसंस्थालाई एकजुट भई मानवीय उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गरेका छन् ।






प्रतिकृया दिनुहोस्