काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण बाढीको पृष्ठभूमिबारे चीनको सरकारी मौसम निकायले महत्वपूर्ण मौसमसम्बन्धी विश्लेषण सार्वजनिक गरेको छ।
चीनको बेइजिङस्थित ‘वर्ल्ड मेटियोरोलोजिकल सेन्टर’ले उत्तरी नेपालमा आएको आकस्मिक बाढी र गेग्रान बहावलाई नेपाल तथा नेपालको माथिल्लो जलाधार क्षेत्र दक्षिणी तिब्बतमा भएको वर्षासँग जोडेको छ।
‘ग्लोबल डिजास्टर वेदर मोनिटरिङ एन्ड फोरकास्ट न्युज’को ९२औँ अंकमा प्रकाशित रिपोर्ट २६ अगस्ट २०२६ मा जारी गरिएको हो। रिपोर्टको शीर्षक नै ‘फ्ल्यास फ्लड डिजास्टर्स अकर्स इन नर्दर्न नेपाल’ अर्थात् ‘उत्तरी नेपालमा आकस्मिक बाढीको विपद्’ राखिएको छ।
रिपोर्टअनुसार दक्षिणपश्चिमी मनसुन र हिमालयको दक्षिणी फेदीमा हुने भौगोलिक उचाइका कारण नेपालमा पछिल्लो १० दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। उक्त अवधिमा सञ्चित वर्षा भारीदेखि अत्यधिक भारी वर्षाको तहसम्म पुगेको चिनियाँ मौसम केन्द्रको विश्लेषण छ।
त्यसैगरी नेपालको माथिल्लो जलाधार क्षेत्रसँग जोडिएको दक्षिणी तिब्बतमा पनि ‘प्लाटो ट्रफ’को प्रभावका कारण मध्यमदेखि भारी वर्षा भएको र केही स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा भएको रिपोर्टमा उल्लेख छ।
दुवैतर्फ वर्षापछि आकस्मिक बाढी
चिनियाँ सरकारी मौसम केन्द्रको रिपोर्टले २६ अगस्टमा उत्तरी नेपालमा आएको आकस्मिक बाढी र ‘डेब्रिज फ्लो’ अर्थात् ढुंगा, माटो तथा अन्य गेग्रानसहितको बाढी नेपालमा भएको स्थानीय वर्षा र माथिल्लो जलाधार दक्षिणी तिब्बतमा भएको वर्षा दुवैको प्रभावबाट भएको जनाएको छ।
यो विवरण रसुवाको ल्हेन्दे खोलामा आएको बाढी र रसुवागढी क्षेत्रमा भोटेकोशीको जलप्रवाह अचानक बढेको घटनासँग जोडेर हेर्न सकिने देखिन्छ। तर चिनियाँ रिपोर्टले रसुवाको बाढीको तत्काल स्रोतका रूपमा कुनै विशेष हिमताल फुटेको, हिमपहिरो गएको वा हिमनदी फुटेको भनेर भनेको छैन।
अर्थात्, चिनियाँ सरकारी मौसम केन्द्रले सार्वजनिक गरेको यो दस्तावेजले कम्तीमा मौसमीय कारणका रूपमा नेपाल र दक्षिणी तिब्बत दुवैतर्फ भएको वर्षालाई औंल्याएको छ। तर बाढीको वास्तविक भौगोलिक स्रोत र नदीमा यति ठूलो परिमाणमा पानी एक्कासि कसरी जम्मा भयो भन्ने प्रश्नको प्रत्यक्ष उत्तर भने रिपोर्टले दिएको छैन।
अझै भारी वर्षाको जोखिम
चिनियाँ मौसम केन्द्रले बाढी आएको दिनमै आगामी तीन दिनको मौसमबारे समेत चेतावनी दिएको छ।
रिपोर्टअनुसार उत्तरी भारतमाथि रहेको मनसुनी न्यूनचापीय प्रणालीका कारण आगामी तीन दिन नेपालमा मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना छ। नेपालको दक्षिणी क्षेत्रमा भने भारीदेखि अत्यधिक भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
निरन्तर भारी वर्षाका कारण थप आकस्मिक बाढी, पहिरो र गेग्रानसहितको बहाव आउन सक्ने भन्दै सतर्क रहन पनि चिनियाँ मौसम केन्द्रले आग्रह गरेको छ।
रिपोर्टसँगै अगस्ट १६ देखि २५ सम्मको वर्षाको संचित अवस्था, अगस्ट २६ को वायुमण्डलीय अवस्था तथा अगस्ट २६ देखि २९ सम्मको वर्षाको पूर्वानुमानसम्बन्धी नक्सासमेत सार्वजनिक गरिएको छ।
अन्य अनुमान
रसुवाको बाढीको कारणबारे यसअघि हिमपहिरो, हिमताल वा हिमनदीको कुनै भाग फुटेको हुनसक्ने तथा नदी केही समय थुनिएपछि एक्कासि पानी बगेको हुनसक्ने विभिन्न प्रारम्भिक अनुमान सार्वजनिक भएका छन्।
तर चिनियाँ सरकारी मौसम केन्द्रको यो रिपोर्टले भने त्यस्ता भौगोलिक घटनामध्ये कुनै एउटालाई बाढीको कारण भनेर निष्कर्ष निकालेको छैन। यसले मुख्यतः मौसमीय अवस्था र वर्षाको विश्लेषण गरेको छ।
त्यसैले अहिले उपलब्ध तथ्यलाई आधार मान्दा बाढीको मौसमीय पृष्ठभूमिमा नेपाल र दक्षिणी तिब्बत दुवैतर्फको वर्षाको भूमिका रहेको चिनियाँ सरकारी रिपोर्टले स्पष्ट रूपमा औंल्याएको छ।
तर ल्हेन्दे खोला वा भोटेकोशीमा यति ठूलो पानी एक्कासि आउनुको प्रत्यक्ष भौगोलिक कारण भने थप अध्ययनबाट मात्रै यकिन हुने देखिन्छ।
चिनियाँ सरकारी मौसम केन्द्रले जारी गरेको यो रिपोर्ट २६ अगस्ट २०२६ को ‘ग्लोबल डिजास्टर वेदर मोनिटरिङ एन्ड फोरकास्ट न्युज’को ९२औँ अंक हो। रिपोर्टका लेखक हुओ दा, समीक्षक बाओ युआनयुआन र अनुमोदक दाई कान रहेका छन्।
यता नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक अध्ययनबाट नयाँ तथ्य सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको छ।
प्रारम्भिक अध्ययनअनुसार हिम-चट्टान पहिरोपछि ठूलो परिमाणमा गेग्रान तथा पानी ल्हेन्दे खोलामा मिसिएर त्यसपछि बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणमा हिजो भदौ ९ र आज भदौ १० गतेका स्याटेलाइट तस्बिरमा हिम-चट्टान पहिरो तथा त्यसपछि ल्हेन्दे खोलामा आएको बाढीको अवस्था देखाइएको उल्लेख छ।
यसअघि बाढीको कारणबारे हिमपहिरो, हिमताल वा हिमनदीको कुनै भाग फुटेको हुनसक्ने विभिन्न प्रारम्भिक अनुमान सार्वजनिक भएका थिए।






प्रतिकृया दिनुहोस्