कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासको खपत ह्वात्तै बढेको छ। चालु साउन १ गतेदेखि २७ गतेसम्मको अवधिमा सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीमार्फत १४ दशमलव दुई केजीका ४४ हजार ५०० थान ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको छ।
नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपक घिमिरेका अनुसार यो अवधिमा भेरी ग्यासका मात्रै २७ हजार ६२६ सिलिन्डर वितरण भएका छन्। यसैगरी नेपाल ग्यास कर्णालीका पाँच हजार ७८, सैपालका चार हजार ४६५, राप्तीका दुई हजार ८००, रेडियन्सका दुई हजार ७३० र मनकामना ग्यास कम्पनीका एक हजार ८०२ सिलिन्डर बिक्री भएका छन्।
साउन मसान्तसम्ममा सुर्खेतमा थप पाँच हजार सिलिन्डर आवश्यक पर्ने अनुमान गरिएको छ। “यो महिनाभर करिब ५० हजार सिलिन्डर वितरण हुने देखिएको छ, जुन अहिलेसम्मकै उच्च खपत हो,” प्रमुख घिमिरेले जानकारी दिनुभयो।
यसैबीच ग्यासको माग र खपत बढेका बेला लक्षित वर्गलाई सहज होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले विशेष निर्णय गरेको छ। निर्णय अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी तथा मर्कामा परेका नागरिकका लागि प्रत्येक ग्यास डिलरबाट १० प्रतिशत सिलिन्डर छुट्याएर उपलब्ध गराइनेछ।






प्रतिकृया दिनुहोस्