काठमाडौं। सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्वास र तिक्तताका बीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच गहन छलफल भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब ४५ मिनेट एक्लाएक्लै र अनौपचारिक संवाद भएको हो।
प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय सामाजिक सञ्जालमा आफू “विभिन्न चुनौतीहरूसँग एक्लै लड्नुपरेको” भनी प्रकट गरेको अभिव्यक्तिपछि रास्वपा नेतृत्व असन्तुष्ट बनेको थियो। सरकार सञ्चालनमा समन्वयको अभाव र गठबन्धनभित्रको बढ्दो छटपटीका बीच भएको यो भेटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
नियुक्ति, भ्रमण र मन्त्रीको कार्यप्रगतिमा मन्थन
उच्च स्रोतका अनुसार भेटमा मुख्यगरी सरकारका आगामी कदम, राजनीतिक तथा कूटनीतिक नियुक्ति, र मन्त्रीहरूको कार्यप्रगतिका विषयमा केन्द्रित रहेर छलफल भएको छ।
विशेषगरी विभिन्न देशका लागि राजदूतहरूको छनोट, उच्च तहका नियुक्तिहरू तथा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूको भूमिकाबारे दुई नेताबीच कुराकानी भएको बुझिएको छ।
यसैगरी, प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमण र रास्वपा सभापति लामिछानेको आसन्न चीन भ्रमणका विषयमा पनि विचार-विमर्श भएको छ। कूटनीतिक सन्तुलन र वैदेशिक भ्रमणको तयारीबारे दुवै नेताबीच धारणा आदानप्रदान भएको बालुवाटार स्रोतले जनाएको छ।
बालुवाटार स्रोतले दुई नेताबीचको सम्बन्धमा ठूलो दरार आएको चर्चालाई अस्वीकार गर्दै भनेको छ, “बाहिर चर्चा गरिएजस्तो ठूलो मतभेद केही छैन, यसलाई नियमित र अनौपचारिक परामर्शका रूपमा लिनुपर्छ।” बालेन प्रधानमन्त्री बनेपछि लामिछाने उहाँलाई भेट्न बालुवाटार पुगेको यो दोस्रो पटक हो।
सरकारको लोकप्रियता र रास्वपाभित्रको आन्तरिक तरङ्ग
पछिल्लो समय सरकारको कार्यशैलीलाई लिएर जनस्तरमा अपेक्षाअनुसारको परिणाम नदेखिएको भन्दै आलोचना बढ्दै गएको छ। सरकारको अलोकप्रियताको असर पार्टीको जनाधारमा पनि पर्न सक्ने भन्दै रास्वपाभित्र छुट्टै चिन्ता र बहस सुरु भएको छ।
पार्टीभित्र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन, नीतिगत निर्णयमा पार्टीको भूमिका र सरकारसँगको समन्वयलाई लिएर आन्तरिक विवाद र असन्तुष्टि चुलिँदै गएको छ। पार्टीका कतिपय नेताहरूले सरकारको सुस्तता र अलोकप्रिय निर्णयहरूको भागीदार पार्टी बन्न नहुने तर्क गरिरहेका छन् भने अर्को पक्षले सरकारलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिइरहेको छ।
भेटघाटमा लामिछानेसँगै रास्वपा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको उपस्थितिलाई लिएर विभिन्न दाबी गरिए पनि दुवै पक्षका केही स्रोतहरूले भने भेट मुख्यतः बालेन र रविबीच नै केन्द्रित रहेको बताएका छन्।
सरकार र प्रमुख सत्ता साझेदार दलबीचको यो संवादले आगामी दिनमा सरकारको कार्यशैली सुधार हुने र सम्बन्ध थप व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।






प्रतिकृया दिनुहोस्