काठमाडौं। विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काठमाडौंस्थित ऐतिहासिक महांकाल मन्दिर परिसरको ‘चौघेरा सत्तल’ को पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाद्वारा करिब ८ करोड ९५ लाख रुपैयाँको लागतमा निर्मित सो सत्तलको बिहीबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उद्घाटन गरेकी छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले करदाताको रकमबाट निर्मित सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताइन्। यस्ता ऐतिहासिक संरचनालाई व्यावसायिक प्रयोजनमा नभई धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा प्रयोग गरिनुपर्नेमा उनले जोड दिइन्।
स्पष्ट कार्ययोजना र संरक्षणको सुनिश्चितता भए संरचना गुठी संस्थानलाई हस्तान्तरण गर्न महानगर तयार रहेको बताउँदै उनले भनिन्,
“हामी सबैको भूमिकाको सम्मान गर्छौँ। संस्थानका अधिकारीहरूले भनेजस्तै संरचना हस्तान्तरण गर्न हामी तयार छौँ, तर यसको भावी उपयोगबारे प्रस्ट योजना हुनुपर्छ। करदाताको लगानीमा बनेका यस्ता सम्पदामा व्यावसायिक क्रियाकलाप गर्न दिन सकिँदैन। यहाँ केवल धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधि मात्र हुनुपर्छ।”
कार्यक्रममा महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले अन्य निकायको कार्यक्षेत्रमा पर्ने सम्पदाहरूको समेत मौलिकता जोगाउन महानगरले लगानी गरिरहेको बताए। सम्पदा संरक्षण सम्बन्धी निकायहरूबीच समन्वय अभावले कहिलेकाहीँ काममा चुनौती थपिने गरेको उल्लेख गर्दै उनले भने, “हामी पुर्खाको नासो नयाँ पुस्तामा हस्तान्तरण गर्न संवेदनशील छौँ। साधन, सिप र ज्ञानको अभाव देखाएर कुनै पनि सम्पदालाई भत्किएको अवस्थामा छाड्न सकिँदैन।”
समारोहमा पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग, काठमाडौँ महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन र गुठी संस्थानका उपप्रशासक राजेन्द्र दाहालले समेत सम्पदा संरक्षणका विषयमा आ-आफ्नो धारणा राखेका थिए।
पुनःनिर्माण लागत र संरचनागत विवरण
महानगरको सम्पदा तथा पर्यटन विभागका अनुसार सत्तल पुनःनिर्माणका लागि सुरुमा १० करोड १० लाख ७९ हजार रुपैयाँको लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत दायित्व पाएको ‘विनायक-एसपी-बोहोरा जेभी’ ले ‘भेरिएसन’ पछि कुल ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँमा निर्माण सम्पन्न गरेको हो।
विक्रम संवत् १९९७ सालको ऐतिहासिक तस्बिरलाई मुख्य आधार बनाएर ५८३.८१ वर्गमिटर क्षेत्रफलमा यो चौघेरा सत्तल निर्माण गरिएको हो। परम्परागत शैली र सामग्री प्रयोग गरी बनाइएको यस सत्तलको भुइँतलामा ९ वटा कोठा, पहिलो तलामा ३ वटा सभा हल, १ कोठा र १ भण्डार कक्ष तथा माथिल्लो भागमा परम्परागत बुइँगल बनाइएको छ।
करिब १,३०० वर्ष पुरानो मानिने महाङ्काल मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो। नेवार तान्त्रिक परम्परासँग गहिरो सम्बन्ध रहेको यो मन्दिर काठमाडौँ उपत्यकाकै प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ।






प्रतिकृया दिनुहोस्