कास्की। आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको पोखरा-दुबई हवाई उडान सेवालाई व्यवस्थित र दीर्घकालीन बनाउने विषयमा पर्यटन व्यवसायी तथा फ्लाइ दुबईका प्रतिनिधिहरूबीच पोखरामा महत्वपूर्ण संवाद भएको छ।
पोखरा उद्योग वाणिज्य संघ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीहरूसँग भएको भेटघाटमा उडानलाई स्थायित्व दिन सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याइएको हो।
छलफलका क्रममा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने योजनासहित काम सुरु भइसकेको जानकारी दिए।
यो सीधा उडानले गण्डकी प्रदेश र आसपासका बासिन्दालाई दुबई मात्र नभई फ्लाइ दुबईको सञ्जालमार्फत लन्डन, न्युयोर्क र टोकियो जस्ता विश्वका २५० भन्दा बढी सहरहरूसँग सोझै जोड्ने अवसर दिलाउने उनको भनाइ थियो।
यस्तै, फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले पनि उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सम्पूर्ण प्राविधिक तथा व्यावसायिक तयारी भइसकेको स्पष्ट पारे।
स्थानीय निजी क्षेत्रका तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट हुने पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल र नियमित बनाउन पर्यटन व्यवसायी तथा नागरिक समाजका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
रेवान पोखरा र फ्लाइ दुबईका पदाधिकारीहरूबीचको छुट्टै भेटमा पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय पर्यटक आगमनमा वृद्धि तथा निजी क्षेत्रबीचको आपसी हितका विविध विषयमा व्यावसायिक सहकार्य गर्ने समझदारीसमेत भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गत महिना मात्रै दैनिक उडानको अनुमति पाएको फ्लाइ दुबईले आफ्नो उडान तालिका सार्वजनिक गरिसकेको छ। सुरुमा एक महिनाका लागि मात्र घोषणा गरिएको भए तापनि कम्पनीले आगामी सन् २०२७ को मार्च २६ सम्मकै लागि टिकट बुकिङ खुला गरिसकेको जनाएको छ।
उडान अनुमति पाउनुअघि फ्लाइ दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी र सञ्चालन अवस्थाको उच्चस्तरीय निरीक्षणसमेत गरेको थियो।
सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेसँगै यो उडान तय भएको हो। सन् २०२३ को जनवरी १ मा उद्घाटन भई करिब २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको यो विमानस्थल हालसम्म आन्तरिक उडान र केही देशका चार्टर उडानमा मात्र सीमित थियो।
पर्यटकीय राजधानी पोखरा सिधा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिन लागेपछि अब ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रिने आशामा यहाँका पर्यटन व्यवसायीहरू उत्साहित देखिएका छन्।







प्रतिकृया दिनुहोस्