काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’ मिसेल कुका म्बोलादिङ्गाले अमेरिकाको भिसा नपाएका कारण शनिबार भएको उज्वेकिस्तान विरुद्धको महत्त्वपूर्ण विश्वकप खेल गुमाएका छन् ।
यस वर्षको सुरुवातमा मोरक्कोमा सम्पन्न अफ्रिका कप अफ नेसन्स (आफ्कोन) का दौरान म्बोलादिङ्गा चर्चामा आएका थिए । कङ्गोका प्रथम प्रधानमन्त्री पाट्रिस लुमुम्बा प्रति सम्मान व्यक्त गर्दै रङ्गशालाको प्यारापिटमा खेल नसकिउन्जेलसम्म एउटै आसनमा बिनाचलचल उभिने उनको अनौठो शैलीले विश्वको ध्यान तानेको थियो । सन् १९६१ मा गोली हानी हत्या गरिएका लुमुम्बा कङ्गोका प्रतिष्ठित एवं आदरणीय नेता हुन् ।
कङ्गोको राष्ट्रिय झण्डाको रङ्ग झल्कनेङ्गा रङ्गीचङ्गी सुट पहिरिने म्बोलादिङ्गाको अनुहार र स्वरूप दिवंगत नेता लुमुम्बासँग अचम्मै गरी मिल्छ । राजधानी किन्सासामा रहेको लुमुम्बाको सालिककै शैलीमा खेल अवधिभर एउटा हात माथि उठाएर मूर्ति झैं उभिने भएकाले उनलाई ‘लुमुम्बा भेया’ उपनामले समेत चिनिन्छ ।
प्यारापिटमा वरिपरिका अन्य समर्थक नाचगान र हुटिङ गरिरहँदा उनी भने खेलभर स्तब्ध र शान्त उभिन्छन् । यही अनौठो समर्थनका कारण चर्चित बनेका उनलाई गत जनवरीमा मोरक्कोबाट फर्किएपछि कङ्गो सरकारले एउटा ‘फोर-ह्विल ड्राइभ’ गाडी उपहारस्वरूप प्रदान गरेको थियो ।
यसअघि मेक्सिकोको ग्वादालाहारामा भएको कोलम्बिया विरुद्धको खेलमा (जसमा कङ्गो १–० ले पराजित भएको थियो) म्बोलादिङ्गा रङ्गशालामा उपस्थित थिए । तर, कङ्गोमा फैलिएको इबोला महामारीका कारण कङ्गोली यात्रीहरूमाथि लगाइएको प्रतिबन्धले गर्दा उनको विश्वकप आगमन नै ढिलो गरी भएको थियो । कङ्गो सरकारको पछिल्लो तथ्याङ्क अनुसार देशमा इबोला संक्रमितको संख्या १,२०३ पुगेको छ भने ३२१ जनाको मृत्यु भइसकेको छ ।
मेक्सिकोको खेलपछि टोलीलाई समर्थन गर्न अमेरिकाको अटलान्टा पुग्नुपर्नेमा भिसा अस्वीकृत भएपछि उनी अन्तिम ३२ को यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको उज्वेकिस्तान विरुद्धको खेलमा उपस्थित हुन सकेनन् । वासिङ्टन डीसीका लागि कङ्गोली राजदूत कापिनङ्गा यभेट न्गान्दुले रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै कङ्गो नकआउट चरणमा प्रवेश गरेमा म्बोलादिङ्गाले भिसा पाउने विश्वास व्यक्त गरेकी छिन् ।







प्रतिकृया दिनुहोस्