काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल फिफा विश्वकप २०२६ को समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० को सोझो गोलअन्तरले पराजित गर्दै ब्राजिल समूहको शीर्ष स्थानमा रहन सफल भएको हो ।
दुई गोल गरेका विनीसियस यस पटक विश्वकपमा ह्याट्रिक गर्ने ब्राजिलियन खेलाडीको सूचीमा नाम चढाउनबाट भने चुके, जसका लागि ब्राजिलियन समर्थकले थप केही समय पर्खनुपर्ने भएको छ । यद्यपि, जारी प्रतियोगितामा उनको गोल संख्या चार पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको दौडमा पाँच गोलसहित शीर्ष स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीभन्दा मात्र एक गोलले पछि छन् ।
ब्राजिललाई विश्वकपको नकआउट चरणमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका रियल म्याड्रिडका स्टार फरवार्ड विनीसियस जुनियर स्कटल्यान्डविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए ।खेलको सुरुवाती समयदेखि नै ब्राजिलको दबाबमा परेको स्कटल्यान्डले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । खेल अवधिभर पूर्ण रूपमा निरीह देखिएको स्कटल्यान्ड शून्यका विरुद्ध तीन गोलले स्तब्ध बन्यो ।यो पराजयसँगै समूह चरणबाटै बाहिरिने खतरामा परेको स्कटल्यान्डको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना अब अन्य समूहका खेलको नतिजामा निर्भर रहनेछ । तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूमध्ये पर्दै अघिल्लो चरण पुग्न स्कटल्यान्डले अब भाग्यको भरोसा गर्नुपर्नेछ ।







प्रतिकृया दिनुहोस्