उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी बोकेको बा२ख ६४३८ नम्बरको बस सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय सङ्गमचोकबाट खटिएको टोलीले उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल उदयपुर पुर्याएको थियो।
अस्पतालमा उपचारका क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका–२ की ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको छ।
प्रहरीका अनुसार बस चालक महोत्तरी गौशाला नगरपालिका–१० का २८ वर्षीय जीवन आले भने सकुशल छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।







प्रतिकृया दिनुहोस्