एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा गरिएको हालैको आक्रमण रुसले किभमा गरेको आक्रमणको प्रतिकारस्वरूप भएको बताएका छन्।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले युक्रेनले जुन १५ मा भएका रुसी हमलाको जवाफ दिने चेतावनी पहिले नै दिएको र ‘चुपचाप नबस्ने’ स्पष्ट पारे।
जेलेन्स्कीले विशेष रूपमा किभ–पेचेर्स्क लावरा क्षेत्रमा भएको रुसी आक्रमणको उल्लेख गरे, जसका कारण असम्प्शन क्याथेड्रलमा आगलागी भएको थियो। उक्त हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो।
उनले रुसलाई चेतावनी दिँदै भने, ‘यदि युक्रेन जल्छ भने, तपाईंहरूको मस्को पनि जल्नेछ।’
राष्ट्रपति जेलेन्स्कीले आफ्नो टेलिग्राम सन्देश दोहोर्याउँदै रुसलाई युद्ध अन्त्य गर्न आग्रह गरे। तर, उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्ने कुनै संकेत देखाएका छैनन्। त्यसैले उनले पश्चिमी मुलुकहरूलाई रुसमाथिको प्रतिबन्ध थप कडा बनाउन आग्रह गरे।
यसैबीच, मस्कोस्थित एक तेल प्रशोधन केन्द्रमाथि एक साताभित्र दोस्रो पटक आक्रमण भएको जनाइएको छ। युद्ध सुरु भएयता युक्रेनले मस्को क्षेत्रलाई लक्षित गर्दै गरेको यो सबैभन्दा शक्तिशाली आक्रमणमध्ये एक मानिएको छ।







प्रतिकृया दिनुहोस्