विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले शिक्षा, स्वास्थ्य, सीप र सामाजिक न्यायलाई समेट्दै उक्त महत्त्वाकांक्षी बजेट सार्वजनिक गरेका हुन्।
प्रदेश सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ‘डिजिटल क्लासरुम’ को अवधारणा अघि सारेको छ। यसअनुसार, प्रदेशका १ सय वटा विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन सुरु गर्न १० करोड रुपैयाँ छुट्याइएको छ। त्यसैगरी, मनमोहन प्राविधिक विश्वविद्यालयका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ भने धनकुटामा चिकित्सा शास्त्रको अध्ययन सुरु गर्ने सरकारको योजना छ। परम्परागत ज्ञानको संरक्षण गर्ने उद्देश्यले बजेटमा ज्योतिष शास्त्र, वास्तु तथा तान्त्रिक विधिको अध्ययनलाई समेत समेटिएको छ।
सीमान्तकृत र पछाडि पारिएका वर्गलाई लक्षित गर्दै सरकारले विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ। ‘सक्षम छोरी’ कार्यक्रमका लागि ७ करोड, अपाङ्गता रोकथाम तथा संरक्षणका लागि १६ करोड ५० लाख र बौद्धिक अपाङ्गता तथा अटिजम भएका बालबालिकाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै, साङ्केतिक भाषाको अधिकार प्रत्याभूत गर्न १६ करोड र सो सम्बन्धी स्रोत कक्षा सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
खेलकुद क्षेत्रको सर्वाङ्गीण विकासका लागि सरकारले २३ करोड रुपैयाँ छुट्याएको छ, जसमा वैजनाथ क्रिकेट रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसका अतिरिक्त, समुदायमा रहेका मौलिक ज्ञान, सीप र प्रविधिको अनुसन्धान गरी त्यसलाई व्यावसायिक बनाउन २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री लिङ्थेपले जानकारी दिए।







प्रतिकृया दिनुहोस्