१९ जेष्ठ २०८३, मंगलवार १९:२४
रत्ननगर – रत्ननगर नगरपालिका वडा नं. ९ ले आर्थिक अवस्था कमजोर रहेका तथा कपरखोरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका दुई परिवारलाई एक महिनाका लागि पुग्ने खाद्यान्न सामग्री सहयोग गरेको छ।
वडाले विपन्न, असहाय तथा आवश्यकतामा रहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरेको हो। सहयोग अन्तर्गत चामल, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
खाद्यान्न सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष अनन्त अधिकारीले आर्थिक रूपमा कमजोर तथा समस्यामा परेका परिवारलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा विपन्न परिवारको जीवनस्तर उकास्न लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
अध्यक्ष अधिकारीले वडा कार्यालयले खाद्यान्न सहयोगसँगै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित विभिन्न सामाजिक तथा मानवीय सेवाहरू उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। आगामी दिनमा पनि आवश्यकता र अवस्थाको पहिचान गरी यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।
कार्यक्रममा कपरखोरी माध्यमिक विद्यालयकी शिक्षिका शान्तिदेवी अधिकारी, वडा सदस्य सुषमा खड्काथोकि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव सूर्य ढुङ्गानाले गर्नुभएको थियो।
स्थानीय सरकारले समुदायका आवश्यकता अनुसार सञ्चालन गर्दै आएका यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमले विपन्न परिवारलाई राहत पुग्नुका साथै सामाजिक सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास गरिएको छ।







प्रतिकृया दिनुहोस्