चितवन, जेठ १६ । रोटरी तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६/२७ का लागि आयोजना गरिएको “डिस्ट्रिक्ट टिम लर्निङ सेमिनार” तथा “ट्रेनिङ टिम लर्निङ सेमिनार” शुक्रबारदेखि चितवनको पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सुरु भएको छ।
“Lead with Integrity, Inspire with Vision, Serve with Leadership” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दुई दिने सेमिनारमा जिल्लाभरका रोटर्याक्ट पदाधिकारी, प्रशिक्षक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कार्यक्रमको अध्यक्षता रोटर्याक्ट डिस्ट्रिक्ट रिप्रिजेन्टेटिभ रोटरी वर्ष २०२६/२७ का प्रकाश शर्मा गैरेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल री–इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले रोटर्याक्टमा आवद्ध युवाहरूलाई नेतृत्व, अनुशासन र सेवाभावमार्फत समाज परिवर्तनमा अग्रसर हुन प्रेरित गरेका थिए। उनले युवाहरूको सक्रियता र सकारात्मक सोचले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरे। साथै, रोटर्याक्टले युवाहरूलाई नेतृत्व विकास र सामाजिक उत्तरदायित्व सिकाउने उत्कृष्ट प्लेटफर्म बनेको धारणा व्यक्त गरे।
सेमिनारमा विशेष अतिथि तथा प्रशिक्षकका रूपमा डीआरआर रोटरी वर्ष २०१९/२० स्नेहा शाक्य, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२०/२१ सबिक न्यौपाने, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२१/२२ हृषव जोशी, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२२/२३ सुनिल घिमिरे तथा रोटर्याक्ट डिस्ट्रिक्ट ट्रेजरर रोटरी वर्ष २०१९/२० पेसल भट्टराईले प्रशिक्षण तथा सहजीकरण गरेका थिए।
कार्यक्रममा वक्ताहरूले नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, प्रभावकारी टोली निर्माण तथा सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए। सहभागीहरूबीच अनुभव आदानप्रदान, अन्तरक्रिया तथा भावी कार्ययोजनामाथि छलफलसमेत गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय गान तथा रोटरी गीत प्रस्तुत गरिएको थियो। सेमिनार जेठ १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।







प्रतिकृया दिनुहोस्