१४ जेष्ठ २०८३, बिहीबार २०:२५
चितवन — कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
वनले आफ्ना उपभोक्ताहरूलाई लक्षित गर्दै ११७ जनालाई अनुदानमा स्प्रे टंकी वितरण गरेको छ भने १३ जना महिलालाई सिलाई–कटाई सम्बन्धी आधारभूत तालिम प्रदान गरिरहेको छ। सामुदायिक वनको ७४ प्रतिशत र उपभोक्ताहरूको २६ प्रतिशत साझेदारीमा स्प्रे टंकी खरिद गरी वितरण गरिएको वनका अध्यक्ष हरिकुमार गुरुङले बताए ।
डिभिज वन कार्यालय चितवनका प्रमुख एप कार्यक्रमका प्रमुख अतिथि विष्णु प्रसाद आचार्यले चतुर्मुखी सामुदायिक वनलाई देशकै नमुना पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको बताए। उनले वन क्षेत्रमा छिट्टै नेचर गाइड तालिम, फोटोग्राफी तालिम तथा नाइट सफारी सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिए।
“सामुदायिक वन अब संरक्षणमा मात्रै सीमित छैन, यसलाई पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्छ,” उनले भने, “प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई उपयोग गर्दै यहाँ पर्यटक आकर्षित गर्न सकिने ठूलो सम्भावना छ।”
कार्यक्रममा वनका पूर्व अध्यक्ष तथा सल्लाहकार सरोज गुरुङले वनले पछिल्लो समय पर्यावरणीय तथा आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए।
कार्यक्रम वनका अध्यक्ष हरिकुमार गुरुङ को अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष गुरुङले चतुर्मुखी सामुदायिक वनलाई संरक्षण, रोजगारी र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए। उनका अनुसार वन्यजन्तु आकर्षित गर्न घाँसेमैदान र पोखरी निर्माण गरिएको छ भने वन पैदावारमाथिको निर्भरता घटाउन सीपमूलक कार्यक्रम सञ्चालन गरिँदै आएको बताए ।
उनले स्थानीय संस्कृति, जैविक विविधता र प्राकृतिक वातावरणलाई संरक्षण गर्दै पर्यटक आकर्षित गर्ने योजनाअनुसार वन क्षेत्रमा पर्यावरणमैत्री पूर्वाधार निर्माण भइरहेको जानकारी दिए। “हाम्रो उद्देश्य वन जोगाउने मात्र होइन, वनमार्फत स्थानीयको जीवनस्तर उकास्ने पनि हो,” उनले भने।
कार्यक्रममा वनका उपाध्यक्ष निरञ्जनकर जोशी ले स्वागत मन्तव्य राखेका थिए भने लालिगुराँस टोलका अध्यक्ष कृष्ण प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उपभोक्ताको तर्फबाट दावा दोर्जे तामाङले वनले सञ्चालन गरेका कार्यक्रम समुदायका लागि उपयोगी र प्रभावकारी भएको बताएका थिए । भने कार्यक्रमको सञ्चालन वनका सचिव वालकुमारीश्रेष्ठ ले गर्नुभएको थियो।







प्रतिकृया दिनुहोस्