रत्ननगर नगरपालिका–५, झुवानीमा सृजनशील सामुदायिक सिकाइ केन्द्र र वडा स्तरीय बाल सञ्जालको आयोजनामा तथा वडा कार्यालयको सहयोगमा २ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम शनिबारदेखि सुरु भएको छ।
बालबालिका तथा युवाहरूमा नेतृत्व क्षमता विकास, व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सहजकर्ता रविता महतोले जानकारी दिइन्।
वडा स्तरीय बाल सञ्जालकी अध्यक्ष सोनिता रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बालकृष्ण चापागाईंले बालबालिका तथा युवाको क्षमता विकासलाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले नेतृत्व विकाससम्बन्धी यस्ता तालिमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्यमा जिम्मेवार नागरिक निर्माणमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो। साथै, बालबालिकालाई सामाजिक गतिविधिमा सक्रिय सहभागिता गराउँदै उनीहरूको प्रतिभा र क्षमता उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
कार्यक्रममा सृजनशील सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मीनप्रसाद सापकोटाको उपस्थिति रहेको थियो। तालिममा सञ्चारकर्मी सञ्जय दुवाडीले प्रशिक्षण दिएका थिए भने रविता महतोले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा काव्या खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा नेतृत्व विकास, प्रभावकारी संवाद, क्षमता अभिवृद्धि तथा सामाजिक सहभागितासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने सृजनशील सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सापकोटाले बताए ।







प्रतिकृया दिनुहोस्