काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसले उग्र रूप लिएको छ।
भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा जारी आठौँ सचिवालय बैठक तय गरिएका ११ वटा महत्त्वपूर्ण संगठनात्मक एजेन्डाहरूलाई थाती राख्दै केवल नेतृत्व हस्तान्तरण र पार्टीको आगामी दिशाको विषयमा मात्र केन्द्रित हुन पुगेको हो।
देशमा व्याप्त राजनीतिक तथा आर्थिक संकटको सामना गर्न र तल्लो तहका आम कार्यकर्तामा छाएको चरम निराशालाई नयाँ ऊर्जामा बदल्न वर्तमान नेतृत्वले त्याग गर्नुपर्ने आवाज बैठकमा अत्यन्त बलियो गरी उठेपछि सिंगो पार्टी पंक्तिमा ठूलो तरंग उत्पन्न भएको छ।
बैठकमा बहुसंख्यक सदस्यहरूले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेपछि आक्रोशित बनेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै पनि हालतमा पार्टी नेतृत्व नछाड्ने स्पष्ट र कडा सन्देश दिएका छन्।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ओलीले आफूलाई कसैले सम्झाइबुझाइ गर्दैमा नेतृत्व छाड्ने अवस्था नरहेको जिकिर गर्दै त्यतातिर नलाग्न चेतावनी दिए।
पार्टीलाई पुनः पुरानै बलियो अवस्थामा फर्काउन आफू पूर्ण रूपमा सक्षम रहेको दाबी गर्दै उनले पार्टीको नेतृत्व फेरि पनि आफैंले गर्नुपर्ने अडान दोहोर्याए र नेतृत्व हस्तान्तरणको बहसलाई सिधै खारेज गरिदिए।
बैठक धेरै लामो र लम्बेतान भइसकेको भन्दै ओलीले बीचमै समापनको घोषणा गर्न खोज्दा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कडा प्रतिवाद गरेका थिए। गुरुङले अरू नेताहरूलाई बोल्नै नदिएर बैठक सक्न लागिएको हो भन्दै सीधा प्रश्न गरेपछि बैठकस्थलको माहोल निकै तनावपूर्ण बनेको र ओली कुनै जवाफ नदिई आसनबाट उठेपछि शनिबारको बैठक बिनाकुनै निष्कर्ष टुङ्गिएको थियो।
यसअघि बैठकमा धारणा राख्दै पार्टीका महासचिव शंकर पोखरेलले वर्तमान कार्यशैली र यथास्थितिमा पार्टी कुनै पनि हालतमा अगाडि बढ्न नसक्ने दाबी गरेका थिए।
उनले सीधा राजीनामा शब्द प्रयोग नगरे पनि पार्टी आन्दोलन र संगठन यही अवस्थामा चल्न नसक्ने भन्दै समग्र पुनर्गठन गरेर जानुपर्ने धारणा सचिवालय बैठकमा स्पष्ट रूपमा राखेका छन्।
यता उपमहासचिव लेखराज भट्टले भने ६० वर्ष उमेर पूरा भइसकेका आफू लगायतका सम्पूर्ण पुराना नेताहरू नेतृत्वबाट ससम्मान बिदा हुनुपर्ने र त्योभन्दा मुनिको पुस्तालाई पार्टी आन्दोलनको सम्पूर्ण जिम्मेवारी सुम्पनुपर्ने पुस्तान्तरणको नयाँ प्रस्ताव अघि सारे।
६० वर्षे उमेरहदको विषय उठाउँदै भट्ट, उपमहासचिवद्वय योगेश भट्टराई र रघुवीर महासेठका साथै सचिव पद्मा अर्यालले समेत भुइँ तहको वास्तविक अवस्था दयनीय रहेकाले गम्भीर सुधार र पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए।
बहुसंख्यक सचिवालय सदस्यहरूले स्थापित नेतृत्वको विकल्प खोजिरहेका बेला सचिव महेश बस्नेत भने ओलीको बचाउमा आक्रामक रूपमा प्रस्तुत भएका थिए। उनले देश र पार्टीको यस्तो संकटपूर्ण अवस्थामा अध्यक्ष ओलीको राजीनामा माग्नुलाई आपराधिक कामको संज्ञा दिँदै नेताहरूलाई सचेत गराए।
विशेष महाधिवेशन गरेर नेतृत्व फेरेका अन्य राजनीतिक दलहरूको अवस्था पनि चुनावमा देखिएको उदाहरण दिँदै बस्नेतले नेतृत्व हस्तान्तरणको बहसलाई औचित्यहीन ठहर गरे। अहिलेसम्म बोलेका नेताहरूमध्ये उपाध्यक्ष रामबहादुर थापा र सचिव बस्नेतले मात्र ओलीको खुलेर बचाउ गरेका छन्।
दुई दिनदेखि जारी यो महत्त्वपूर्ण बैठकमा शनिबार नौ जना पदाधिकारीहरूले आफ्नो धारणा राखिसकेका छन् भने बाँकी ४ जना सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राखेपछि अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।







प्रतिकृया दिनुहोस्