दासढुंगा –नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुंगा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्याणर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवाली रहेका थिए । उनले सो अवसरमा मदन–आश्रितले छोडेर गएको विचारले अप्ठयारोमा पनि जुटिरहने सङ्कल्प प्राप्त भएको धारणा व्यक्त गरे । त्यस्तै बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेता द्वयको तेजश्वी सोचलाई अझ उँचोका साथ अगाडि बढाउन प्रण गर्नुपर्ने बताए ।
जिल्ला पार्टी अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रम जिल्ला सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए । एमाले, चितवनले मदन आश्रित स्मृति दिवस मनाउन पाँच दिने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अन्तर्गत जेठ ४ गते ‘जनताको बहुदलीय जनवादको कसीमा वर्तमान अवस्था र आगामी कार्यभार’ विषयक अन्तक्र्रिया कार्यक्रम तय भएको सचिव ढुंगानाले बताए । कार्यक्रम जिल्ला समन्वय समितिको सभाकक्षमा बिहान ११ बजे हुनेछ । एमाले चितवनको व्यवस्थापनमा हुने कार्यक्रम पार्टीको शुभेच्छुक संस्था मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने छ । त्यस्तै मदन भण्डारीको शव फेला परेको स्थान पश्चिम चितवनको गाजीपुरमा रहेको मदन पार्कमा जेठ ५ गते श्रद्धाञ्जली कार्यक्रम हुने पार्टी जिल्ला सचिव ढुंगानाको भनाइ छ ।
२०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुंगामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाउँदै आएको छ । नेकपा (एमाले)ले सो दुर्घटनालाई नेता द्वयको रहस्यमय हत्या भन्दै आएको छ ।





प्रतिकृया दिनुहोस्