काठमाडौं। नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। जसका कारण देशभरको मौसममा फेरबदल आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराईका भू-भागमा आंशिक बदली रहेको छ।
अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्ने सम्भावना छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै अन्य प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। तराईका एक-दुई स्थानमा भने मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बदली रहने देखिन्छ।
कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।





प्रतिकृया दिनुहोस्