गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेसन’ चलाएको छ । सो अप्रेसनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजालगायत अवैध लागूऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताए ।
‘पक्राउ परेकामध्ये ८२ जनाले लागूऔषध सेवन गरेको पाइएको छ, केहीको साथमा गाँजासमेत फेला परेको छ’, उनले भने, ‘बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकैसाथ स्वीप अप्रेसन सञ्चालन गरिएको थियो ।’
बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रका आसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अप्रेसन’ चलाएको हो ।
गए राति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उनको भनाइ छ । केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलाहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।





प्रतिकृया दिनुहोस्