कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ । रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ ।
घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि पत्तो नलागेपछि परिवारले छोराको आश मारिसकेको थियो । तर, भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपकसँग भेट गरी उनको भिडियो फेसबुकमा सार्वजनिक गरेपछि यो सुखद संयोग जुरेको हो ।
“भगवान्ले नै आएर खबर सुनाएजस्तो भयो,” छोराको तस्बिर मोबाइलमा देख्दा भावुक बनेका बुबा डम्बरबहादुरले भने, “यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो ।” आमा मानमतीको खुसी पनि कम्ती छैन । छोरालाई छिट्टै देख्न पाउने आशमा उनका आँखा अझै ओभानो हुन सकेका छैनन् ।
दीपक हाल मानसिक रूपमा केही अस्वस्थ रहेको र उनलाई काम दिने साहुले नै उपचार गराइरहेको जानकारी प्राप्त भएको छ । परिवारले उनीसँग भिडियो कलमार्फत संवाद समेत सुरु गरिसकेको छ । हाल दिल्लीमा रहेका दीपकका दाजु र भाउजूले आगामी वैशाख २० गते लद्दाख पुगेर उनलाई घर ल्याउने तयारी गरेका छन् ।
शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि वडा कार्यालयले परिवारसँग समन्वय गरेको थियो । “फेसबुकका कारण वर्षौँदेखि हराएको व्यक्ति फेला पर्नु प्रविधिको सकारात्मक प्रयोग हो,” उनले भने । नेगी परिवारका तीन छोरामध्ये माइला दीपक १८ वर्षअघि बेपत्ता भएका थिए ।





प्रतिकृया दिनुहोस्