मकवानपुर। हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ।
उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि तथा अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
अभियान अन्तर्गत उद्योग परिसरभित्र फैलिएको झाडी, घाँस तथा अव्यवस्थित रूपमा बढेका वनस्पतिहरू हटाइएका थिए। सरसफाइ कार्यले उद्योग क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै आगलागी तथा अन्य सम्भावित जोखिम न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडा सिमेन्ट उद्योगलाई पुनःसशक्त र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले चाँडै नै नेपाल सरकारको संयुक्त स्वामित्वमा रहेको यस उद्योगलाई उत्कृष्ट उत्पादन गर्ने उद्योगका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताए।
उनले उद्योग सञ्चालनलाई दिगो, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका कामहरू अगाडि बढाइने समेत स्पष्ट पारे। साथै, उद्योग परिसरको नियमित सरसफाइ र व्यवस्थापनमा सबै सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
स्थानीयवासी तथा सरोकारवालाहरूले समेत सरसफाइ अभियानले उद्योगप्रति सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।




प्रतिकृया दिनुहोस्