लाहोर- समीर मिन्हासको विष्फोटक ब्याटिङको मद्दतले इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर लिग (पीएसएल) मा रावलपिन्डीमाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति भएको खेलमा रावलपिन्डीले दिएको १५७ रनको लक्ष्य इस्लामावादले मात्र १४.२ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गरेको हो ।
इस्लामावादको जितमा १९ वर्षीय युवा ब्याटर समीर मिन्हास नायक बने। उनले मात्र ३६ बलमा ७ चौका र ४ छक्काको मद्दतले ७० रनको विष्फोटक इनिङ खेले। उनी आउट हुँदा इस्लामावाद जितको नजिक पुगिसकेको थियो। मध्यक्रममा हैदर अलीले अविजित २६ र मार्क च्यापम्यानले मात्र ७ बलमा २४ रन जोड्दै ३४ बल बाँकी छँदै टोलीलाई जित दिलाए। रावलपिन्डीका लागि मोहम्मद आमिर, जलत खान र रिसाद होसेनले समान १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रावलपिन्डीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। रावलपिन्डीका लागि कमरान गुलामले ३९ बलमा ५० रनको अर्धशतकीय योगदान दिएका थिए भने अन्त्यतिर ड्यान फोरेस्टरले १९ बलमा अविजित ४४ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए। बलिङतर्फ इस्लामावादका रिचर्ड ग्लिसन र फहिम असरफले समान २–२ विकेट लिए।
उत्कृष्ट ब्याटिङ गरेका समीर मिन्हास ‘प्लेयर अफ द म्याच’ घोषित भए।
नेपाली राष्ट्रिय टिमका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम युनाइटेडको यो लगातार जित हो । चार खेल खेल्दा युनाइटेडले पछिल्ला दुई खेलमा लगातार जित निकालेको हो । एक खेलमा अंब बाँडेको युनाइटेड पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चार खेल खेलिसक्दा पनि दीपेन्द्र भने बेन्चमै छन् ।
गएराति इस्लामावाद युनाइटेडसँग पराजित रावलपिन्डी भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ।




प्रतिकृया दिनुहोस्