काठमाडौँ – नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष, पारदर्शी र कानूनी प्रक्रिया अनुसार छानबिन गरी दोषीलाई कारबाही गर्न पुनः माग गरेको छ।
पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय आयोगमार्फत छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने अडान राख्दै आएको जनाएको छ। भदौ २५ मा पहिलोपटक माग उठाएको कांग्रेसले भदौ २७ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत पनि सोही माग दोहोर्याएको थियो।
निर्वाचनपछि चैत ६ देखि ८ गतेसम्म बसेको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको थियो। साथै, भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग र २४ गतेको विध्वंसका घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरी पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएको थियो।
कांग्रेसले हालसम्म प्रतिवेदन विधिसम्मत रूपमा सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाएको छ। सञ्चारमाध्यममा सार्वजनिक भएका अंशहरूका आधारमा आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा अध्ययन गरे पनि २४ गतेका घटनालाई बेवास्ता गरेको देखिएको भन्दै त्यसलाई एकपक्षीय र अपूर्ण ठहर गरेको छ।
पार्टीका अनुसार, यदि २४ गतेका घटनामा छानबिन नै गर्न नसकिएको हो भने प्रतिवेदन अपूर्ण हुने र यसले निष्पक्षतामाथि प्रश्न उठाउनेछ। यस सन्दर्भमा सर्वोच्च अदालतले समेत आयोगको निष्पक्षताबारे उठाएको प्रश्नलाई बल पुग्ने कांग्रेसको भनाइ छ।
यस्तै, मन्त्रिपरिषद्को हालैको निर्णयप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। एउटै प्रतिवेदन र एउटै सिफारिसका आधारमा सरकारको व्यवहार ‘चयनात्मक’ देखिएको भन्दै यस्तो कदमले विधिको शासन कमजोर बनाउने चेतावनी दिएको छ।
कांग्रेसले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। साथै, आवेग र हतारमा गरिने निर्णयले न्याय प्रक्रिया प्रभावित हुने र मुलुक पुनः अस्थिरतातर्फ जान सक्ने भन्दै सरकारलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।






प्रतिकृया दिनुहोस्