काठमाण्डौ – जलवायु परिवर्तनका कारण बाढी, पहिरो र हिमताल विस्फोटलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा देशको भविष्य नै जोखिममा परेको विज्ञहरूले बताएका छन् ।
विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले वैज्ञानिक तथ्याङ्कलाई समयमै पूर्वसूचनामा रूपान्तरण गर्न सके धनजनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले देशभर स्वचालित मौसम स्टेसन, राडार र उपग्रह प्रणालीमार्फत वास्तविक समयमै तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । विभागले अहिले १२ घण्टादेखि तीन दिनसम्मको पूर्वानुमान सेवा सञ्चालन गरिरहेको छ ।
वरिष्ठ जलविद् राम विकेशले बाढी पूर्वसूचनाका कारण क्षति कम भएको उल्लेख गर्दै यस प्रणालीमा लगानी अझ बढाउनुपर्नेमा जोड दिनुभयो । भविष्यमा पाँचदेखि ७ दिनसम्मको पूर्वानुमान, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण र मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा जानकारी दिइएको छ ।




प्रतिकृया दिनुहोस्